प्रेस्टीज एडभेन्चर कम्पनीमार्फत् सगरमाथा आरोहण गएका अर्जेन्टिनाका ५१ वर्षीय रिकार्डो डारिओ बर्न हाइअल्टिच्युडले बिरामी भए।
कम्पनीको सहयोगमा जेठ ९ मा कैलाश हेलिकप्टर पठाई क्याम्प–३ बाट उनलाई उद्धार गरियो । स्रोतका अनुसार उद्घारमा गएको हेलिकप्टरले ९ हजार डलर मात्र पायो । तर, कैलाश चार्टर एन्ड रेस्क्यु सर्भिस प्रालिले बिनाआधार रिकार्डोलाई ३७ हजार डलरको बिल थमायो ।
सामान्य अवस्थाका रिकार्डोलाई सगरमाथाको क्याम्प–३ बाट उद्धार गरी जबर्जस्ती काठमाडौंको स्वाकन इन्टरनेसनल हस्पिटलमा भर्ना गरियो । रिकार्डोले भने, ‘कम उचाईमा आइपुग्दा म ठीक भइसकेको थिएँ, काठमाडौं आउने क्रममा मैले शिक्षण अस्पताल लैजान आग्रह गरे पनि जबर्जस्ती स्वाकन पुर्याइयो।’
सगरमाथा आरोहणका क्रममा रिकार्डोसँगै गएका अन्य आरोही पनि हाइअल्टिच्युडका क्रममा बिरामी भए पनि कम उचाईंमा फर्कनासाथ ठीक भएका आरोही गाइड ङिमानुरु शेर्पाले बताए।
पर्यटक बिरामी भएका बखतमा रेस्क्यु गर्दा करोडौं भुक्तानी माग्न थालेपछि बिमा कम्पनी सतर्क भएका छन् ।
बिमा कम्पनी प्रतिनिधिका अनुसार रिकार्डोलाई हेली चार्टरको नाममा २८ हजारभन्दा डलर बढी बिल पेस गरिएको थियो । रिकार्डोलाई जेठ २१ सम्म स्वाकन हस्पिटल राखिएको थियो, पछि सर्जरी गर्ने भन्दै हेम्स अस्पताल पुर्याइएको छ । सामान्य बिरामी भए पनि फोक्सोमा पानी जमेको, अनुहार र अन्य शरीरका छाला सर्जरी गर्नुपर्नेजस्ता विभिन्न शीर्षकमा बिल पेस गरिएको बिमा कम्पनीको दाबी छ । उनलाई ५ दिनमा ६ हजार ६ सय डलरको बिलसमेत थमाई भुक्तानी मागिएको छ।
रिकार्डोले क्लब अल्पाइन फ्रान्सकाइस ओर्थेज कम्पनीबाट बिमा गरेका थिए । उक्त संस्थाले युरोपका बिमा कम्पनीको सहकार्यमा बिमा गर्छ ।
८० देखि १ सय २० युरोसम्म बिमा प्रिमियम तिरेर पर्यटक हिमाल आरोहण गर्न नेपाल आउँछन्, यसरी आउने पर्यटक बिरामी भएको बखतमा रेस्क्यु गर्दा करोडौं भुक्तानी माग्न थालेपछि बिमा कम्पनी सतर्क भएका छन्।
बिमा कम्पनीले फेक रेस्क्युबारे थप अनुसन्धान गर्न सरकार गुहार्ने तयारी थालेका स्रोतले जनाएको छ।
आरोहण कम्पनी, हेलिकप्टर, चार्टर कम्पनी र अस्पताल एउटै समूहको
पीडित अर्जेन्टिनाका रिकार्डोको आरोहण कम्पनी प्रेस्टीज एडभेन्चरका सञ्चालकसँग घनिष्ट सम्बन्ध छ । तर, स्वयं उनी फेक रेस्क्यु गिरोहको जालोमा परे । रेस्क्यु गर्ने हेलिकप्टर, चार्टर कम्पनी र अस्पतालमा सीमित व्यक्तिकै हालिमुहाली छ भन्ने पीडितलाई पत्तो भएन । आरोहण कम्पनीको हेलिकप्टरमा पनि लगानी भएकोे बुझिएको छ । हेलिकप्टर कम्पनीका सञ्चालक कैलाश चार्टर एन्ड रेस्क्यु सर्भिस र स्वाकन इन्टरनेसनल हस्पिटलका सञ्चालक हुन्।
रिकार्डोलाई कुन आधारमा ३७ हजार डलरको बिल थमाइयोे भन्ने स्पष्ट छैन । उल्टै, तत्काल भुक्तानीको माग गर्दै बिमा कम्पनीलाई दबाब दिइने गरिएको छ।
रिकार्डोले नेपाल आएपछि दुई करोडभन्दा बढी खर्च गरिसकेका छन् । अझै पनि अस्पतालले उनलाई बिदा दिन मानेको छैन।
३ हजार डलरको रेस्क्यु, १२ हजारको बिल
सन् २०१४ मे २९ गते फ्लाइट कनेक्सन इन्टरनेसनल हेलि चार्टर सर्भिस कम्पनीले सोलुखुम्बुको पाङबोचेबाट काठमाडौंसम्म रेस्क्यु गर्दा ११ हजार ५ सय अमेरिकी डलर बिल पेस गर्यो । पीडित विलियम डाइन वोवनिङले महँगो भन्दै कम गर्न आग्रह गरे । हेलिकप्टर कम्पनीले पेस गरेको बिललाई कुनै वास्ता नगरी जबर्जस्ती तीन गुणा बढी रकम मागेपछि उनी असन्तुष्ट बने । उनकै साथी काङ लिङको सन् २०१३ डिसेम्बर २७ मा सोही स्थानबाट रेस्क्यु गरिँदा ३ हजार ४ सय अमेरिकी डलर मात्र बुझाएको उनले थाहा पाएका थिए।
सरकारले ६ महिनाअघि फेक रेस्क्युबारे सामान्य छानबिन गरी दोषी पत्ता लगाए पनि गुपचुप राखेर कारवाही अघि बढाएन ।
सन् २०१५ डिसेम्बरमा नीलगिरी साउथ हिमालमा अस्ट्रियन नागरिक जेरहेर्ड फिंगल बेपत्ता भए । उनको खोजी र उद्धारका लागि कैलाश चार्टर कम्पनीले जिम्मा लियो र फिस्टेल हेलिकप्टर प्रयोग गर्यो । केही घन्टा खोजीपछि हेलिकप्टर फर्कियो । नियमअनुसारै हेलिकप्टरले कम्पनीलाई बिल पेस गर्यो। तर, कम्पनीले आधारबिना ५० हजार अमेरिकी डलरको बिल आफन्तलाई बुझाएर रकम लियो । विभिन्न शीर्षकमा पेस भएको बिललाई आफन्तले विश्वकै महँगो रेस्क्यु भने।
पर्यटक र बिमा कम्पनीसँग एक हजार प्रतिशत बढी बिल जोडेर असुल्ने कैलाश चार्टर एन्ड रेस्क्यु सर्भिस प्रालि, फ्लाइट कनेक्सन इन्टरनेसनल, इजि हेली सर्भिसजस्ता कम्पनीलाई सरकारले नियमन नगरेको व्यवसायीको गुनासो छ।
कुन हेलिकप्टर प्रयोग गरेर कति रकम भुक्तानी गरेको र चार्टर कम्पनीले कति प्रतिशत लिन खोजेको भन्ने नखुलाइ एकमुष्ठ बिल पेस गरी ठगी गर्दै आएका छन्।
हेलिकप्टर कम्पनीले ठूलो रकमको बिल पेश गर्न कानुनी रुपमा नपाउने भएपछि चार्टर कम्पनी पनि सञ्चालन गर्ने गरेका छन्। फेक रेस्क्यु गर्नकै लागि स्वाकन, इरा हेल्थ, वयोधा, विविक, ग्राण्डी, मेडिसिटीजस्ता अस्पताल सञ्चालन भएको पीडितको आरोप छ।
हेलिकप्टर रेस्क्युमा चार्टर गरेको भन्दै विना आधारका बिल पर्यटकलाई थम्याइने गरिएको छ । यस बिषयमा बिरामी र बिमा कम्पनीलाई पत्तो हुँदैन।
बिलअनुसार हेलिकप्टर काठमाडौंदेखि लुक्ला र लुक्लादेखि सगरमाथा आधारशिविरमा अवतरण गरी तेस्रो शिविरमा पठाइएको उल्लेख छ । रिकार्डोलाई तेस्रो शिविरबाट उद्दारगरी दोस्रो शिविर र त्यसपछि आधारशिविर, लुक्ला हुँदै काठमाडौं ल्याएको उल्लेख गरिएको छ।
तर रेस्क्यु गर्न गएको भए किन ७ स्थानमा ल्याण्ड गरियो भन्ने प्रश्न उठेको छ । एजेन्सीले हेलिकप्टरबाट लङलाइन दक्ष जनशक्ति प्रयोग गरेको भनेपनि कुन हेलिकप्टर, कति शेर्पा र कति ज्याला दिएको भन्ने उल्लेख नगरी बिल पठाएको पाइएको छ।
‘चार्टर कम्पनीले हेलिकप्टरविना कसरी उद्धार गर्छ ?’ आरोही गाइड लाक्पा शेर्पाले प्रश्न गरे, ‘यदि हेली प्रयोग गरेको हो भने कुन प्रयोग गरेर कति रकम हेलीलाई बुझाएको भन्ने उल्लेख हुनुपर्छ, त्यो पनि सरकारले हेलिलाई तोकेको दररेट अनुसार ।’
प्रतिवेदन गुपचुप, कारबाही भएन
फेक रेस्क्युबारे विश्वभर नकारात्मक सन्देश गएपनि नियमन निकाय आर्थिक प्रलोभनमा परेर अनुगमन नगर्दा झन् बिचौलियाले रेस्क्युमा नक्कली गतिविधि बढाएका छन्। सरकारले ६ महिनाअघि फेक रेस्क्युबारे सामान्य छानबिन गरी दोषी पत्ता लगाए पनि गुपचुप राखेर कारवाही अघि बढाएन।
हिमालमा नक्कली रेस्क्युको क्रम बढेपछि नेपाल बिमाको स्तरमा ‘रेडजोन’ मा परेको छ।
डाक्टरको दररेट, बिरामीलाई लिने शैया शुल्क र अन्य उपचार खर्चबारे समेत अस्पतालमा अनुगमन हुने गरेको छैन । प्रत्येक बर्ष पर्यटक ‘नांगेझार’ बनाएर पठाइएका प्रशस्तै घटना छन्। तर नियमन निकाय मौन हुनु मुख्य समस्या भएको आरोही गाइड लाक्पाको भनाइ छ ।